Tuesday, October 20, 2020

भक्तपुरमा भुइँचालोले घर खोस्यो, बाढीले टहरा

Author

Date

Category

भक्तपुर, गोलमढीको घर भुइँचालो गएकै क्षणदेखि झुकेको झुक्यै छ। त्यसयता टहरामा बस्दै आएका ७५ वर्षीय विष्णुभक्त सिजाख्वलाई बुधबार राति अर्को बज्रपात पर्यो।

छेउकै ब्रह्मायणी र चख्खु खोलामा आएको बाढी उनको टहरालाई चार फिट डुबाएर बग्यो।बिहीबार दिउँसो हामी पुग्दा खोला उसैगरी उर्लिएको थिएन, तर बास उजाडिएको थियो। टहराको भुइँ धान रोप्न ठीक्क खेतजस्तो देखिन्थ्यो। विष्णुभक्तले कतै कतै इँटाले छोपेर भुस छर्किन भ्याइसकेका रहेछन्। त्यहाँ टेक्नेबित्तिकै कुनाकाप्चाबाट हिलो पिच्च निस्कन्थ्यो।उनको परिवारका सदस्य भिजेर ढाडिएका ओछ्यान सुकाउने ठाउँ खोज्दै थिए। उनी आफैं भने बिहीबारको रात कहाँ र कसरी सुत्ने अलमलमा थिए।

बुधबार रातिको अविरल वर्षाले भक्तपुर आसपासका खोला बढेर धेरैजसो ठाउँ जलमग्न भए। अरनिको राजमार्गबाट गुज्रँदा थुप्रै घर र पसलमा पानी पसेका देखिन्थे।वडा नम्बर ८, लिबालीमा बस्ने विस्थापित परिवारको विचल्लीले भने तीन वर्षअघिको भुइँचालो र त्यसयताको सरकारी लापरबाही सम्झाउँदै थियो।

त्यतिबेला भुइँचालोले घरबारविहीन भएपछि भक्तपुरको भित्री बस्तीका धेरै परिवार खाली ठाउँ खोज्दै सहरको बाहिरी भेगमा तितरबितर भएका थिए। पायक पर्ने ठाउँमा टहरा बनाएर बसे। त्यसकै एउटा हिस्सा जगातीको ठीकपछाडि पर्ने लिबाली आइपुग्यो। त्यसयता यतै बस्दै आएका उनीहरूलाई ब्रह्मायणी र चख्खु खोलाले लगातार सताउँदै आएको छ।‘आएकै वर्ष यसैगरी टहरामा खोलो पसेपछि दुई फिट उकालो ठाउँ खोजेर यहाँ टहरो सारेका थियौं,’ विष्णुभक्त भन्दै थिए, ‘यसपाला यता पनि खोलो पस्यो।’

यसरी बर्सेनि टहरोमा खोला पस्ने यो जमिन उनीहरूले बहालमा लिएका हुन्। ‘धेरै पानी पर्नेबित्तिकै रातभरि जागा बस्ने गर्थ्यौं,’ विष्णुभक्तले भने, ‘यसपाला चाहिँ झुक्यायो।’बुधबार राति एक बजे पानी पस्ला कि जस्तो भएपछि उनीहरूको परिवारै सजग भएको थियो। एकैछिनमा नपस्ला जस्तो लाग्यो र ढुक्क हुँदै सुते।‘राति पिसाब लागेर ब्युँझदा भुइँ एक फिट डुबाएर भित्रै खोला बगिरहेको देखेँ,’ विष्णुभक्तले केही घन्टाअघिको त्रासदी सम्झँदै भने, ‘हल्ला गरेर घरभरिका मान्छे उठाउन नपाउँदै पानीको उचाइ बढेर खाटसमेत डुबाइसकेको थियो।’

तीब्र गतिमा पानीको स्तर बढेपछि भएभरका ओढ्ने ओछ्यौनादेखि त्यसमुनिका सबै सामान डुबिसकेका थिए। हलुका सामान पानीमा तैरँदै थिए। पानीको सतह अझ कति बढ्ने हो यकिन नभएपछि उनीहरू भित्ता समात्दै घरबाट निस्के। छिमेकमा आए। आफूभन्दा दुई वर्ष जेठी श्रीमती नानीमैयाँलाई बिहान साढे तीन बजे सूर्यविनायकस्थित छोरीको घर पठाए।‘त्यसयता छिमेकमा ओत लागेर बसिरहेको छु,’ छेउमै सुकाएको चामल हातले चलाउँदै विष्णुभक्त भन्दै थिए, ‘भर्खर किनेको एक बोरा चामल थियो, अब कुहिन्छ होला।’

भुइँचालो जानुअघिसम्म विष्णुभक्तको जीवन यति दयनीय थिएन।परम्परादेखि कृषिमा आधारित यो परिवारको गोलमढीछेउ याछेँ गल्लीमा बसोबास थियो। मोहीका रूपमा खेती–किसानी पनि चल्दै थियो।अचानक भुइँचालो आयो, घरसँगै जीवनको सुखशान्ति ढल्यो।उनीहरूको पुर्ख्यौली घर तीन पैसा जग्गामा बनेको थियो। त्यसमा पनि विष्णुभक्तको भागमा परेको हिस्सा एक पैसा जग्गाको थियो। त्यो पाँचतल्ले घर जुनसुकै बेला भत्किने गरी ढल्किएको छ।भुइँचालोलगत्तै त्यहाँबाट भागाभाग गरेका उनीहरूले एक साताभित्रै यो ठाउँमा आफ्नो बसोबास सारे। आफैं जस्ता र बाँस किनेर टहरा ठड्याए।

‘उताको घरको कस्तो अप्ठेरो छ भने आफूले मात्र चाहेर भत्काउन नमिल्ने,’ उनले भने, ‘आफैं भत्किदियो भने पनि अझै त्यहाँ रहेका हाम्रा सामान पुरिएलान् भन्ने चिन्ता।’उनी बुधबार दिउँसो मात्रै छोरालाई लिएर गोलमढीस्थित घर पुगेका थिए। त्यहाँका जस्ता तानतुन पारेर पानी चुहिने ठाउँ छोपछाप पारेका थिए।उनको विडम्बना कस्तो भने, उताको घर न भत्किने न बस्न मिल्ने अवस्थामा छ, यता बर्खाभरि नदीको डुबान, चिसोमा हावा नछेक्ने।

उनको परिवाररमा श्रीमतीबाहेक छोरा, बुहारी, छोरी र छोराका दुई सन्तान गरी सात जना छन्। सबै त्यही टहरामै बस्छन्।विष्णुभक्तका अनुसार सम्पत्तिको मामलामा आफ्नै भाइसँग चलिरहेको मुद्दा अदालतमा विचाराधीन रहेकाले भत्कन लागेको घरबापत पनि उनले केही पाएका छैनन्। भक्तपुर जिल्ला अदालतमा जितेको परिवारको अंश मुद्दा अहिले पाटनस्थित पुनरावेदन अदालत पुगेको उनले सुनाए।

‘भुइँचालो गएयता सरकारबाट आजसम्म मेरो परिवारले पाएको एक बोरा चामल मात्रै हो,’ उनले भने, ‘त्यसपछि राहत लिन पटक–पटक उताको टोल पुग्दा बाँडिसकेको जवाफ दिएर फर्काए।’यताको टोलमा पनि राहत बाँड्ने काम त गरेका थिए, तर टहरा नै बनाएर बसेका विस्थापित भए पनि ‘उताको टोलको’ भनेर उनलाई दिइएन।‘भुइँचालो पीडित धेरैले धेरैथोक पाए भन्छन्,’ उनले रातभरि नसुतेको अनुहार निन्याउरो बनाउँदै भने, ‘मैले त्यो एकबोरा चामलबाहेक एक रुपैयाँ आजसम्म पाएको छैन।’

विष्णुभक्तको परिवार मात्र होइन, यो ठाउँबाट अलि वर भुइँचालोपीडित ठूलै जमातको बसोबास छ। विस्थापितहरूको यो टोलका केही घरमा पनि बुधबार राति तिनै दुई खोलाको पानी पसेको थियो। त्यसैमध्येका एक पीडित हुन्, सुबिन बुयो।विष्णुभक्तको जस्तै सुबिनको घर भुइँचालो आएकै वर्षको बाढीले डुबेको थियो। बुधबार राति फेरि डुब्यो।सुबिनको टहरा अडिएको ठाउँमा भुइँचालो पीडितहरूको ५६ वटा उस्तै टहरा लहरै छन्। यो जमिन आधा सरकारकै ऐलानी र आधा ख्वपः कलेजको स्वामित्वमा रहेको उनले सुनाए।

भुइँचालोलगत्तै उनीहरू आश्रय खोज्दै दौडादौड यता आएका थिए। त्यतिबेला सुबिनकी श्रीमती भर्खरकी सुत्केरी थिइन्। प्राथमिकतासाथ उनलाई यहाँको टहरा दिइएको थियो। त्यतिबेलादेखि तीन बच्चा र श्रीमतीका साथ उनी यही टहरामा बस्दै आएका छन्।‘राति अचानक पानी पसेछ,’ दिउँसो घाम लागेपछि ठुस्स गन्हाइरहेको टहराको भित्री भाग बाहिरैबाट देखाउँदै उनले भने, ‘भुइँमा भएका सबैथोक डुबेका थिए।’कोठाभित्रै एउटा जापानी संस्थाले दिएको प्लास्टिकको खाट देखाउँदै उनले राति पानी पस्दा त्यो खाटै डुबेको बताए।

गोलमढीस्थित सुबिनको घर पनि भुइचालोपछि भत्किएकै अवस्थामा छ। दुईवटा घर छिचोलेर अलि गल्लीभित्र पसेपछि मात्रै पुगिने त्यो भत्केको घरका भग्नावशेष उनले अझै पन्छाएका छैनन्।‘मोटरै नपस्ने गल्लीभित्रबाट त्यो थुप्रो कसरी बाहिर निकाल्ने?’ उनले भने।दुई पैसा दुई दाममा बनेको त्यो ध्वस्त घर पनि बुवा र ठूलोबुवाको छोराबीच हिस्सा लाग्नै बाँकी रहेको उनले बताए।‘सिपाडोलमा एक रोपनी जग्गा छ,’ उनले भने, ‘त्यसमा मोही छुटाएर कति पाउने र ठूलोबुवाको परिवारलाई छुट्याएपछि आफ्नो भागमा कति पर्ने थाहै छैन।’

यस्तो अवस्थामा भुइँचालोले पुख्र्यौली घर भत्काउनेबित्तिकै टेक्ने समात्ने केही नभएर शरणार्थीजस्तो बन्नुपरेको उनले सुनाए।‘भुइचालोलगत्तै एकपटक जस्तापाता किन्न १५ हजार रुपैयाँ पाएको थिएँ,’ मजदुरी गरेर जीविकोपार्जन गरिरहेका ३३ वर्षीय सुबिनले भने, ‘त्यसपछि आजसम्म हामीजस्तालाई पुनः बसोबास गराउने सरकारको कुनै योजना थाहा पाएका छैनौं।’सुबिनका बुवा र आमा यही टोलको अर्को स्थानमा भाडाको जग्गा लिई टहरा बनाएर कान्छो छोरासँग बसेका छन्।

‘सरकारी जग्गा भएकाले हाम्रो टहराको पैसा तिर्नुपरेको छैन,’ उनले भने, ‘तै भुइँचालोकै बेला सुत्केरी भएकाले यति सुविधा पाइयो।’जमिन सित्तैमा उपलब्ध भए पनि शिविरका टहरा आफूहरू मिलेरै उभ्याएको सुबिन सुनाउँछन्।सरकारी र कलेजको जग्गामा बनेका ६६ वटा टहरामध्ये हाल करिब २५ वटामा मात्र भुइँचालो पीडितको बसोबास छ। बाँकी अन्त घर बनाएर गइसके पनि यहाँको टहरा अझै नछाडेको सुबिनले बताए।यसरी बसोबास गर्दै आएकाहरूसँग पनि पछिल्लो समय नगरपालिकाले भाडा माग्न थालेको उनी सुनाउँछन्।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...