Thursday, October 29, 2020

अधिकृतको आवेदन खुल्दै, निर्मला हत्या प्रकरणमा गाउँले पनि शंकाको घेरामा, साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु

Author

Date

Category

अधिकृतको आवेदन खुल्दै, निर्मला हत्या प्रकरणमा गाउँले पनि शंकाको घेरामा, साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु

काठमाडौं– निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान शुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो ।  उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । त्यस्तै प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ ।

केन्द्रीय प्रविधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौं रहेका कञ्चनपुर प्रहरीले अधिकृतलाई बुधबार रिपोर्टे दिएको छ । सरकारी वकिलको सल्लाहमा खोल्छौँ, कञ्चनपुुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने ।रिपोर्ट कञ्चनपुर ल्याएपछि सरकारी वकिलको सल्लाहमा खोलिने उनले बताए । डिएनए परीक्ष गरिएका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । थप तिनको डिएनए परीक्षको तयारी छ ।, नयाँ पत्रिकामा खबर छ ।

अधिकृतको आवेदन खुल्दै
लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो । आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न लागेको पहिलो पटक भएको सुवेदीको भनाई छ । कानूनी अड्चन आए पनि त्यसलाई सम्बोधन गरेर लोकसेवाका गतिविधि नरोक्ने सहमति भएको बताइएको छ ।

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु
भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।  धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिएको बताए ।

प्रधानमन्त्रीद्वारा सहयोगको अपेक्षा
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वृृद्धिको यात्रामा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनुभएको छ । चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाडसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको बताउनु भयो । भेटमा उहाँले नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेको बताउनु भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण गर्नु भएको छ । चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताउनुभएको छ ।

मुसा मार्न प्रशासन गुहार 
पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।  पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन कार्यालयमा मुसा नियन्त्रणका लागि निवेदन दिएका हुन् । बल्लतल्ल रोपाइँ गरेर पाक्ने बेलाको धान थन्क्याउने समयमा मुसाले नष्ट गरेपछि लगाएको बाली यत्तिकै छाड्नु परेको स्थानीय किसानले बताएका छन् । मुसाले ५० प्रतिशतभन्दा बढी धान नोक्सान पु¥याएको स्थानीय ढाकाराम सुवेदीले बताए ।

विशेष अदालतमा आरोपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग रु. ५०–५० हजार घुस लिएको अवस्थामा पक्राउ परेका अभियुक्तत्रयलाई बिगो रु ५० हजार कायम गरी जरिवाना र कैद सजाय हुन मागदावी लिइ आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।  यसैगरी आयोगले महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईविरुद्ध पनि रु. एक लाख चालीस हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग गर्दै सोही अदालतमा मुद्दा दायर गरेको छ । राईलाई सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन सेट खरिद गर्न घुसबापत रु एक लाख चालीस हजार लिएको अवस्थामा आयोगको टोलीले केही दिनअघि रङ्गेहात पक्राउ गरेको थियो ।

संवैधानिक इजलास शुरु 
सर्वोच्च अदालतमा संवैधानिक इजलास शुरु भएको छ । गत साउन १६ गतेदेखि संवैधानिक इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था छ ।  बुधबारदेखि शुरु भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जवरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे छन् । संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भए पनि इजलास नियमित बस्न नसक्दा न्याय प्रक्रियामा ढिलाइ भइरहेको थियो ।  एउटा प्रधानन्यायाधीशको अवकाशपछि अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म वा इजलासका एक मात्र न्यायाधीश नहुँदा पनि उक्त इजलास चल्न सक्दैन । संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । इजलासमा संवैधानिक विवादका २२३ वटा मुद्दा सुनुवाइ गर्न बाँकी छ ।

तोकिएको कार्यालय नजाने कर्मचारी हटाइन्छः प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको कार्यालयमा नजाने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् । प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्नुपर्ने उनको भनाइ छ । म्याग्दी उद्योग वाणिज्य महासंघको कार्यक्रममा उनले ठूलाठूला हाकिम राजाकै पालाका रहेको तथ्य प्रस्तुसमेत गरे । कर्मचारीप्रति रुष्ट देखिएका प्रचण्डले कर्मचारीकै कारण संघीयता धरापमा पर्न सक्नेमा चिन्तासमेत व्यक्त गरे । प्रदेश र संघमा जान अस्विकार गर्ने कर्मचारीलाई बर्खास्त गर्नैपर्ने भन्दै उनले तोकिएको स्थानमा नजानेलाई निकाल्नुको विकल्प नभएको औंल्याए ।

इपिजी प्रतिवेदन पेशमात्र होइन कार्यान्वयन पनि हुन्छः परराष्ट्रमन्त्री ज्ञवालाी
नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्ष चाँडै पेश हुने र त्यो कार्यान्वयन पनि भएरै छाड्ने सरकारले जनाएको छ । “नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो बनाउन प्रतिवेदनले आधार तयार गरेको छ जसले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत गर्नेछ,” इपिजी प्रतिवेदनका विशेषता सुनाउँदै सञ्चारकर्मीमाझ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सुनाए ।

इपिजीका एकजना सदस्य प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त तथा अर्का सदस्य भारतका लागि राजदूतमा सिफारिश भएपछि इपिजीको प्रतिवेदन भर्सेलामा पर्ने आशंकालाई चिर्दै परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार आफ्नै मन्त्रालयमा भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा भारतका प्रधानमन्त्रीको व्यस्तताका कारण प्रतिवेदन पेश गर्न विलम्ब भएको जानकारी गराए ।

सञ्चय कोषको आकर्षक बीमा योजना: सञ्चयकर्तालाई सुविधैसुविधा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा रु एक लाख तथा घातक रोगको उपचारका लागि रु १० लाखको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सो बीमा योजना आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ । समझदारीसँगै कोषमा कोषकट्टी गराउँदै आएका सञ्चयकर्ताले बिरामी हुँदा औषधोपचारका लागि रु एक लाख र कडा खालका रोगको उपचारका लागि रु १० सम्म बीमाबापतको आर्थिक सहायता पाउनेछन् ।

नक्कली स्याम्पु र मसलासहित पक्राउ 
महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरि नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारीलाई पक्राउ गरेको हो ।  परिसरले बुधबार पत्रकार सम्मेलन गरी भारतीय ब्राण्डको मसला र स्याम्पु गैरकानूनी रुपमा उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधीको रोहवरमा मङ्गलबार दिउँसो नियन्त्रणमा लिइएको जानकारी दिइएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले डेढ वर्षदेखि गैरकानूनी रुपमा मासिक १०० कार्टुन मसला र १०० कार्टुन स्याम्पु उत्पादन गरी राजश्वलगायत कुनै पनि विल नकाटी निर्यात गर्दै आएको जानकारी दिए ।

खेलकूद : राखेप उपाध्यक्षमा तिमल्सिना
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्षसहित तीन सदस्यलाई शपथ खुवाएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पीताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङलाई मन्त्री विश्वकर्माले शपथ खुवाएका हुन् । यही कात्तिक २६ गतेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष तिमिल्सिना, गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी निरौलालाई नियुक्त गरेको थियो । सदस्यको शपथ लिएलगत्तै मन्त्रालयले तिमल्सिनालाई राखेपको उपाध्यमा नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...